Friday, December 27, 2019

सङ्गीत सिक्नेको बोली आफ्नै साथीले नचिन्ने, नयाँ भाखा नटिप्ने र स्टुडियोमा समय लाग्ने समस्या हल हुने : अब सिक्ने भनेपछि साँच्चै सिक्ने

     कलाकार, कार्यक्रम सन्चालक वा सन्चारकर्मीहरूलाई आफ्नो आवाज भारी र प्रभावकारी होओस् भन्ने चाहना हुन्छ । राम्रा गायक गायिका बन्न इच्छुक कलाकारहरूका लागि त झन् आफ्नो आवाजलाई भारी र आकर्षक बनाउनु अत्यन्तै महत्त्वपूर्ण हुन जान्छ । हुन पनि हो, कलाकारको भविष्य आवाजको यही विशेषता र क्षमतासँग जोडिएको हुन्छ । 
     काठमाडौँको गोङ्गबुमा रहेको केआरपी म्युजिक सेक्सनमा प्रशिक्षण लिएका सबै कलाकारहरूको आवाज पहिलेको तुलनामा ४ वा ५ महिनामै भारी वा बोल्ड बन्न पुगेको देखिएको छ । केआरपी म्युजिक सेक्सनमा प्रशिक्षण लिएका सबैजसो प्रशिक्षार्थीहरूले सङ्गीत सिक्न थालेको पहिलो महिनाबाटै आफ्नो आवाज भारी हुँदै गएको प्रतिक्रिया दिएका छन् । आफ्नो फोन आफैले उठाउँदा पनि फोन गर्ने साथीहरूले ‘तपाईँ को हो, ऊ कहाँ गयो ?’ भन्ने जस्ता प्रश्न गर्ने गरेको अनुभव सुनाउँछन् ।  
     केआरपी म्युजिक सेक्सनमा सुरुदेखि नै ‘नुरोधसा’, ‘सारोरेगो’, ‘सारेगम’ र ‘सारेगोम’को रियाज गराइने भएकाले छोटो समयमै त्यस्तो परिणाम निस्किन सम्भव भएको हो । यहाँ गायन सिकाउँदा सुरुदेखि नै गाउँदा बस्ने सही अवस्था, स्वास लिने सही प्रक्रिया, वर्णहरूको उच्चारण अभ्यास, चिउँडोको समतलीयता, जबडाको सही स्थिति, सुरको दायरा वृद्धि, नाद क्षेत्र सङ्क्रमण आदि महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राखिन्छ । 
     सङ्गीतमा भाखा नटिप्ने समस्याका बारेमा धेरै भ्रान्तिहरू छन् । यो समस्या गलाको दायरामा मात्र भर पर्ने विषय होइन । अत्यन्तै वैज्ञानिक विधिबाट सङ्गीत सिकाइने केआरपी म्युजिक सेक्सनमा भाखा नटिप्ने समस्यामा पनि ४ वा ५ महिनामा नै भारी सुधार भएर गएको देखिएको छ, जुन परिणाम निकै अनपेक्षित हो । वर्षौँदेखि भाखा टिप्न नसकेर अल्झिएका कलाकारहरूले केआरपी म्युजिक सेक्सनमा छोटै समयमा सजिलै आफ्नो क्षमतामा वृद्धि गरी आफ्नो पेशालाई अगाडि बढाउन र व्यवसायिक बनाउन सक्षम भएको देखिन्छ । 
     गीत उठाउन अल्झिने र स्टुडियोमा बढी समय लिने समस्याको न्यूनीकरणका लागि समेत केआरपी म्युजिक सेक्सनले प्रशिक्षण दिँदै आएको छ । विशेष गरी प्रोफेसनल कलाकारका लागि उक्त कोर्स अत्यन्तै उपयोगी हुने देखिन्छ । केआरपी म्युजिक सेक्सनले केही स्टुडियोमा लामो समय लिने समस्या भएमा तुरुन्त सम्पर्क गर्न अनुरोधसमेत गरेको छ । 
     त्यस्तै, गायकीका लागि मात्र छुट्टै कोर्स ल्याउने तयारी केआरपी म्युजिक सेक्सनले गरेको छ । नेपाल, भारत र अन्य मूलकका कतिपय प्रशिक्षार्थीहरूले दशौँ–बाह्रौँ वर्ष अभ्यास गर्दा समेत गायकी सिर्जना गर्न नसकेको गुनासो गरेको यत्रतत्र पाइन्छ । यस्तो परिप्रेक्ष्यमा केआरपी म्युजिक सेक्सनको गायकीसम्बन्धी उक्त कोर्स अत्यन्तै उपयोगी हुने देखिन्छ । 
     नेपालमा द्वादशकबाट रियाज गराउने प्रशिक्षण केन्द्रका रूपमा केआरपी म्युजिक सेक्सन स्थापित र परिचित छ । अझ धातुको अभ्यास गराउने, र भाखा टिप्ने संचेतनाको विकास गराउने भएकाले केआरपी म्युजिक सेक्सनको अलग्गै पहिचान कायम हुन पुगेको छ । ‘सिक्ने भनेपछि साँच्चिकै सिक्नुपर्छ’ भन्ने मूल अभिप्राय र नाराका साथ प्रशिक्षण दिइने भएकाले साँच्चै सङ्गीत सिक्न चाहनेहरूका लागि केआरपी म्युजिक सेक्सन अद्वितीय र प्रिय बन्न पुगेको छ । साथै, स्वरलिपिको पठन तथा लेखन अभ्यास गराउने, गायन सिक्ने प्रत्येक प्रशिक्षार्थीहरूलाई छुट्टाछुट्टै हारमोनियम उपलब्ध गराई हारमोनियम समेत सिकाउने जस्ता अन्य सुविधासमेत उक्त संस्थामा रहेका छन् । 
     सङ्गीत कुनै ख्यालख्यालको विषय नभई अत्यन्तै गहिरो चिन्तन र समझका साथ सिक्नुपर्ने बौद्धिक र जटिल विषय पनि हो । सङ्गीत सुर, ताल र सोँचको रोचक मिश्रण भएकाले कलाकार बन्नमात्र सङ्गीत सिक्ने नभई आफ्नो बौद्धिक क्षमता र विश्लेषणात्मक क्षमताको विकासका लागिसमेत सिक्नुपर्ने आवश्यकता हुन्छ । प्रसिद्ध वैज्ञानिक, दार्शनिक र अन्य उच्च व्यक्तित्वहरूले पनि बुद्धिविकासका लागि सङ्गीतको गहिरो अभ्यास गर्ने गरेको इतिहास पाइन्छ । त्यसैले विश्वप्रसिद्ध दार्शनिक नित्से भन्छन्, ‘सङ्गीतबिनाको जीवन भुल हो’ ।
     तपाईँ पनि केआरपी म्युजिक सेक्सन (KRP Musics Section, Gongabu) मा सङ्गीत सिक्न चाहुनुहन्छ भने उक्त संस्थाको फोन नं : ०१४३८९३२९ मा सम्पर्क गर्न सक्नुहुनेछ । 

“जसले गाउँछ बजाउँछ, उसले सम्मान पाउँछ ।” जय सङ्गीत ।

Tuesday, June 25, 2019

भाकाहरु मिलेनमिलेको कसरी थाह पाउने ? (How to Identify the Similarities or Dissimilarities in Melodies?)

मानव जाति आफैमा सबै किसिमका ध्वनि सुन्न सक्षम छैन । माछा र अन्य प्राणीहरुले हामीले नसुन्ने ध्वनिहरु सुन्ने क्षमता राख्दछन् । सङ्गीतमा हामीले काम गर्ने वा अभ्यास गर्ने भनेको पनि मानिसको सुन्न सक्ने क्षमताभित्र पर्ने ध्वनिहरुमाथि हो । सङ्गीतका सन्दर्भमा भन्नुपर्दा त झन् सुन्न सकिने ध्वनिभित्र पनि सबै श्रोताहरुले सही सुनाइ गर्न सक्छन् भन्ने हुँदैन । त्यसैले कुनै श्रोताले फरक धुनहरुलाई पनि उस्तै सुन्न पुग्छन् भने कुनै श्रोताले वास्तविक भिन्नता पहिचान गर्नसमेत सक्दछन् । यसको अर्थ केहो भने, सामान्यतः सुनेका आधारमा मात्र गीतहरुका शब्दनिरपेक्ष भाकाहरुमा हुने समानता र भिन्नता पहिचान गर्न सजिलो हुँदैन । यसरी गरिने निर्णय बढी विवादित हुन पुग्छ । अन्तराष्ट्रिय सन्दर्भमा भन्नुपर्दा इक्लिडिएन दुरी वा हामिङ् दुरी आदिको सहाराबाट समेत त्यस्ता समानता वा भिन्नता पहिल्याउने प्रचलन रहेको पनि पाइन्छ । यहाँ भने केही सरल उपायहरुबारे संक्षिप्त चर्चा गरिएको छ ।

एउटा गीतको शब्दनिरपेक्ष भाका अर्को गीतको शब्दनिरपेक्ष भाकासँग मिलेनमिलेको छुट्टाउने वस्तुगत आधारहरुमा (१) शब्दाश्रित मात्राप्रकृति समुच्चय, (२) सुराश्रित मात्राप्रकृति समुच्चय, (३) सुरप्रयुक्तिप्रकृति समुच्चय, (४) सुरप्रकृति प्रवाहपथ, (५) सुरवर्चश्वीकरण, (६) तहगत शब्दाश्रित मात्राप्रकृतिको प्रवाहपथ, (७) तहगत सुराश्रित मात्राप्रकृतिको प्रवाहपथ, (८) तहगत सुरप्रकृतिको प्रवाहपथ, (९) सुरवर्चश्वीकरण प्रवाहपथ आदि (अथवा उदाहरणका लागि क्रमशः टङ्, टङ्टङ्, सा, सारे, सारेसा आदि र तिनको तहगत प्रवाह वा धार) पर्दछन् । यी विषयहरुलाई सामान्यतः मात्रा, विभाग, ठेका, पदावली, उपवाक्य, वाक्य, अनुच्छेद, परिच्छेद, र पाठका तहमा राखेर हेर्नुपर्ने हुन्छ । विवादित विषयको वास्तविक निर्णयका लागि सबै तहमा सबै आधारहरुबाट गरिएको विश्लेषणपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ ।

यसरी साङ्गीतिक पाठका सबै तहमा उपर्युक्त सबै आधारबाट विश्लेषण गरेका खन्डमा गीतहरुको धुनमा देखिने समानता र भिन्नता पहिल्याउन सजिलो हुन्छ । सङ्गीत रचयिताहरुले यसबारे जानकारी राख्नु अवश्य पनि लाभदायक हुनेछ । खास गरी सङ्गीत रचना (म्युजिक कम्पोज) गर्न अथवा भाका बनाउन सिकाउने प्रशिक्षण कार्यक्रमहरुमा प्रशिक्षकहरुले उपर्युक्त विषयहरु र तिनको बोधसम्बन्धी प्रायोगिक अभ्यास गराउनु आवश्यक हुन्छ । नेपालमा पनि संगीत रचना गर्ने अत्यन्तै महत्त्वपूर्ण कोर्स सन्चालन हुँदै आएका छन् । व्यवसायिक रुपमा काम गर्ने सङ्गीतकारहरुले समयमै यस्ता कोर्सहरु लिँदा नेपाली सङ्गीतको स्तरवृद्धि हुनुका साथै विश्वसनीयतासमेत बढेर जाने कुरामा दुई मत हुन सक्दैन । संगीत रचना (म्युजिक कम्पोज) सम्बन्धी नियमका परिधिमा रहेर गरिएको संगीत रचना अरु भाकासँग नजुध्ने भएकाले सम्भावित आर्थिक तथा नैतिक क्षतिबाट बच्न सकिन्छ ।

-डब्ल्यूडी

Sunday, April 21, 2019

द्वादशक र सप्तकको सम्बन्धबारे संक्षिप्त जानकारी / SAROREGO, DWADASHAK, SAPTAK, SAMBANDHA

द्वादशक र सप्तकको सम्बन्धबारे संक्षिप्त जानकारी

(क) ध्वनिलाई सामान्यतः तीन प्रकारका हुने मानिन्छः (१) हल्ला, (२) बोली, (३) संगीत ।
(ख) संगीतः सुर, ताल र सोँचको मिश्रण संगीत हो ।
(ग) नादका विशेषताः उचाइ, मोटाइ र गुणभेद ।
(घ) बाह्रवटा सुरहरुको समूह द्वादशक हो । एउटा द्वादशकबाट विभिन्न सप्तकहरु निर्माण गर्न सकिन्छ ।
(ङ) सुरहरुलाई तीन द्वादशकमा विभाजन गर्दा निम्नवमोजिम गरिन्छ :
(१) मन्द्र द्वादशकः सा ̣ रो ̣ रे ̣ गो ̣ ग ̣ म ̣ मे ̣ प ̣ धो ̣ ध ̣ नु ̣ नि ̣
(२) मध्य द्वादशकः सा रो रे गो ग म मे प धो ध नु नि
(३) तार द्वादशकः सां रों रें गों गं मं में पं धों धं नुं निं
(च) प्रायोगिक रुपमा सप्तक भन्नाले सातवटा सुरहरुको समूह भन्ने बुझिन्छ । कसैले थाट पनि भन्दछन् । कुनै पनि थाटको सम्पूर्ण जातिमा सातवटा सुरहरु हुन्छन् तर ती त्यतिबेला आरोह वा अवरोहको अर्थसँग जोडिएका हुन्छन् ।
(छ) बिलाबल थाटलाई सप्तक मानेर त्यसका आधारमा चारवटा कोमल र एउछा तीब्र भनी अन्य सुरहरुलाई चिनाउने परम्परागत तरिका पनि छ । त्यो तरिका कुनै समयको अपूर्ण प्राप्ति थियो । तर समय अपूर्णताबाट पूर्णतातर्फ जान्छ र दुर्बलताबाट सबलतातर्फ उन्मुख हुन्छ । हाल समयअनुसार संगीतमा धेरै कुराहरुमा सुधार भइसकेको छ ।
(ज) सप्तकको मात्र अभ्यास गर्दा त्यो अभ्यास अपूर्ण हुन्छ । केही दिनलाई सजिलो लागे पनि त्यसको असर पछिसम्म पर्दछ ।
(झ) प्रशिक्षार्थीहरुले द्वादशक र सप्तक दुवैको अभ्यास गर्नुपर्छ । यसो गर्दा जुनसुकै थाट वा सप्तकको गीतमा पनि चिनेको वा अभ्यस्त भइराखेको सुर नै पर्छ । दुवैलाई ध्यान दिनु लाभदायक हुन्छ ।
(ञ) परम्परित प्रशिक्षणमा कुनै एउटा सप्तकलाई मात्र आधार मान्ने गरिएको भए पनि पछिल्लो समयमा धेरै सुधार भइसकेको छ ।
(ट) नु ̣ रो ध ̣ सा रे नि ̣ सा को अभ्यासले सुरमात्र नभई स्वरमा पनि सुधार ल्याउँछ । यो पनि द्वादशकबाटै आएको हो ।
थप जानकारीका लागि CLICK HERE ...

-डब्ल्यूडी




Saturday, October 29, 2016

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय: संगीत भनेको सुर, ताल र सोँचको मिश्रण हो । सुरका पनि विविध आधारहरु हुन्छन् । ती आधारहरुमा आधारित सुरहरु र तिनका विविध समूहको भूमिका पनि...

संगीत र सारोरेगो : संक्षिप्त परिचय | SANGIT RA SAROREGO : SANKSHIPTA PARICHAYA


  • संगीत भनेको सुर, ताल र सोँचको मिश्रण हो । सुरका पनि विविध आधारहरु हुन्छन् । ती आधारहरुमा आधारित सुरहरु र तिनका विविध समूहको भूमिका पनि संगीतका क्षेत्रमा महत्त्वपूर्ण हुन पुग्दछ । तालको भूमिकाले संगीतमा झन् गहनतम भूमिका निर्वाह गरिरहेको हुन्छ । सुर र तालको भूमिकाको गहिराइ पार गरेपछि सोँचको भूमिकाको बोध हुन पुग्दछ । विशेष रुपमा सुर र ताल अथवा सामान्यीकृत भाषामा भन्नुपर्दा ध्वनि र समयका आधारमा मात्र संगीतलाई बुझ्ने गरिएको पाइन्छ । संगीतका यिनै सुर तथा तालका विषयमा केन्द्रित ब्लगका रुपमा सारोरेगो नामक यस ब्लगलाई लिनुपर्ने हुन्छ ।

  • संसारमा भएका सबै ध्वनिहरु मानिसको कानले सुन्न सक्दैन र मानिसहरुले सुन्ने भनिएका सबै ध्वनिहरु सबै मानिसहरुले सुन्न सक्दैनन् । मानिसले सुन्न सक्ने ध्वनि र तिनका तहहरुको विविध कोणबाट अध्ययनअनुसन्धान हुने क्रम परापूर्वकालदेखि नै जारी छ । संगीतका विविध पक्षहरुको पहिलो प्रयोग भएको लिखित ग्रन्थ ऋग्वेद हो । विभिन्न शास्त्रहरुमा नादहरु असंख्य भएको उल्लेख भएको पाइन्छ । तर सबै नादहरु संगीतमा प्रयोग गर्न वा बोध गर्न सकिँदैन । त्यसैले संगीत पूर्णतः वैज्ञानिक विषय नभएर मानवीय क्षमतामा आधारित वैज्ञानिक विषय मानिन्छ । 

  • विभिन्न अध्ययन र अनुसन्धानहरुलाई आधार मानेर निष्कर्ष वा निर्णय गर्दा एक द्वादशकमा बढीमा ४२ को हाराहारीमा श्रुतिहरु हुने आधार पाउन सकिन्छ । यी सबै श्रुतिहरु पनि संगीतमा सबै श्रोताका लागि श्रवणीय र ग्रहणीय हुँदैनन् । यिनै श्रुतिबाट छानेर १ द्वादशक चयन गरिएको हुन्छ । १ द्वादशकमा जम्माजम्मी १२ वटा सुरहरु रहेका हुन्छन्, जसमा सा, रो, रे, गो, ग, म, मे, प, धो, ध, नु र नि पर्दछन् । द्वादशकबाट सप्तकहरुको समूह तयार हुन्छ । सारेगमपधनि पनि यसैमध्येको एक सप्तक हो । त्यसैले द्वादशकलाई रुख मान्दा सप्तकहरुलाई त्यसका हाँगाहरुका रुपमा लिनुपर्ने हुन्छ । 

  • माथि व्यख्या गरिएझैँ द्वादशकमा हुने आरम्भका ४ सुरहरु सा, रो, रे र गो हुन् । यसैबाट यस ब्लगको नाम सारोरेगो राखिएको हो । यस ब्लगमा संगीतका विविध पक्ष, गहिराइ, समस्या र निराकरणसम्बन्धी विषयहरु रहनेछन् । नेपाली संगीतको प्रवद्र्धन र स्तरीय कार्यहरुको प्रोत्साहन गर्नु पनि यस ब्लगको कार्य हुनेछ । समय भए तपाईँहरु पनि यस ब्लगमा आफ्ना लेखरचनाहरु पठाउन सक्नुहुनेछ । यो तपाईँहामी सबै संगीतकर्मीहरुको साझा ब्लग हो । हामी प्रमाणित सामग्रीहरुलाई मात्र प्रोत्साहन गर्नेछौँ ।
-डब्ल्यूडी