Tuesday, June 25, 2019

भाकाहरु मिलेनमिलेको कसरी थाह पाउने ? (How to Identify the Similarities or Dissimilarities in Melodies?)

मानव जाति आफैमा सबै किसिमका ध्वनि सुन्न सक्षम छैन । माछा र अन्य प्राणीहरुले हामीले नसुन्ने ध्वनिहरु सुन्ने क्षमता राख्दछन् । सङ्गीतमा हामीले काम गर्ने वा अभ्यास गर्ने भनेको पनि मानिसको सुन्न सक्ने क्षमताभित्र पर्ने ध्वनिहरुमाथि हो । सङ्गीतका सन्दर्भमा भन्नुपर्दा त झन् सुन्न सकिने ध्वनिभित्र पनि सबै श्रोताहरुले सही सुनाइ गर्न सक्छन् भन्ने हुँदैन । त्यसैले कुनै श्रोताले फरक धुनहरुलाई पनि उस्तै सुन्न पुग्छन् भने कुनै श्रोताले वास्तविक भिन्नता पहिचान गर्नसमेत सक्दछन् । यसको अर्थ केहो भने, सामान्यतः सुनेका आधारमा मात्र गीतहरुका शब्दनिरपेक्ष भाकाहरुमा हुने समानता र भिन्नता पहिचान गर्न सजिलो हुँदैन । यसरी गरिने निर्णय बढी विवादित हुन पुग्छ । अन्तराष्ट्रिय सन्दर्भमा भन्नुपर्दा इक्लिडिएन दुरी वा हामिङ् दुरी आदिको सहाराबाट समेत त्यस्ता समानता वा भिन्नता पहिल्याउने प्रचलन रहेको पनि पाइन्छ । यहाँ भने केही सरल उपायहरुबारे संक्षिप्त चर्चा गरिएको छ ।

एउटा गीतको शब्दनिरपेक्ष भाका अर्को गीतको शब्दनिरपेक्ष भाकासँग मिलेनमिलेको छुट्टाउने वस्तुगत आधारहरुमा (१) शब्दाश्रित मात्राप्रकृति समुच्चय, (२) सुराश्रित मात्राप्रकृति समुच्चय, (३) सुरप्रयुक्तिप्रकृति समुच्चय, (४) सुरप्रकृति प्रवाहपथ, (५) सुरवर्चश्वीकरण, (६) तहगत शब्दाश्रित मात्राप्रकृतिको प्रवाहपथ, (७) तहगत सुराश्रित मात्राप्रकृतिको प्रवाहपथ, (८) तहगत सुरप्रकृतिको प्रवाहपथ, (९) सुरवर्चश्वीकरण प्रवाहपथ आदि (अथवा उदाहरणका लागि क्रमशः टङ्, टङ्टङ्, सा, सारे, सारेसा आदि र तिनको तहगत प्रवाह वा धार) पर्दछन् । यी विषयहरुलाई सामान्यतः मात्रा, विभाग, ठेका, पदावली, उपवाक्य, वाक्य, अनुच्छेद, परिच्छेद, र पाठका तहमा राखेर हेर्नुपर्ने हुन्छ । विवादित विषयको वास्तविक निर्णयका लागि सबै तहमा सबै आधारहरुबाट गरिएको विश्लेषणपछि मात्र निष्कर्षमा पुग्न सकिन्छ ।

यसरी साङ्गीतिक पाठका सबै तहमा उपर्युक्त सबै आधारबाट विश्लेषण गरेका खन्डमा गीतहरुको धुनमा देखिने समानता र भिन्नता पहिल्याउन सजिलो हुन्छ । सङ्गीत रचयिताहरुले यसबारे जानकारी राख्नु अवश्य पनि लाभदायक हुनेछ । खास गरी सङ्गीत रचना (म्युजिक कम्पोज) गर्न अथवा भाका बनाउन सिकाउने प्रशिक्षण कार्यक्रमहरुमा प्रशिक्षकहरुले उपर्युक्त विषयहरु र तिनको बोधसम्बन्धी प्रायोगिक अभ्यास गराउनु आवश्यक हुन्छ । नेपालमा पनि संगीत रचना गर्ने अत्यन्तै महत्त्वपूर्ण कोर्स सन्चालन हुँदै आएका छन् । व्यवसायिक रुपमा काम गर्ने सङ्गीतकारहरुले समयमै यस्ता कोर्सहरु लिँदा नेपाली सङ्गीतको स्तरवृद्धि हुनुका साथै विश्वसनीयतासमेत बढेर जाने कुरामा दुई मत हुन सक्दैन । संगीत रचना (म्युजिक कम्पोज) सम्बन्धी नियमका परिधिमा रहेर गरिएको संगीत रचना अरु भाकासँग नजुध्ने भएकाले सम्भावित आर्थिक तथा नैतिक क्षतिबाट बच्न सकिन्छ ।

-डब्ल्यूडी