Saturday, October 29, 2016

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय

सारोरेगो - sarorego: संगीत र सारोरेगो : संक्षिप्त परिचय: संगीत भनेको सुर, ताल र सोँचको मिश्रण हो । सुरका पनि विविध आधारहरु हुन्छन् । ती आधारहरुमा आधारित सुरहरु र तिनका विविध समूहको भूमिका पनि...

संगीत र सारोरेगो : संक्षिप्त परिचय | SANGIT RA SAROREGO : SANKSHIPTA PARICHAYA


  • संगीत भनेको सुर, ताल र सोँचको मिश्रण हो । सुरका पनि विविध आधारहरु हुन्छन् । ती आधारहरुमा आधारित सुरहरु र तिनका विविध समूहको भूमिका पनि संगीतका क्षेत्रमा महत्त्वपूर्ण हुन पुग्दछ । तालको भूमिकाले संगीतमा झन् गहनतम भूमिका निर्वाह गरिरहेको हुन्छ । सुर र तालको भूमिकाको गहिराइ पार गरेपछि सोँचको भूमिकाको बोध हुन पुग्दछ । विशेष रुपमा सुर र ताल अथवा सामान्यीकृत भाषामा भन्नुपर्दा ध्वनि र समयका आधारमा मात्र संगीतलाई बुझ्ने गरिएको पाइन्छ । संगीतका यिनै सुर तथा तालका विषयमा केन्द्रित ब्लगका रुपमा सारोरेगो नामक यस ब्लगलाई लिनुपर्ने हुन्छ ।

  • संसारमा भएका सबै ध्वनिहरु मानिसको कानले सुन्न सक्दैन र मानिसहरुले सुन्ने भनिएका सबै ध्वनिहरु सबै मानिसहरुले सुन्न सक्दैनन् । मानिसले सुन्न सक्ने ध्वनि र तिनका तहहरुको विविध कोणबाट अध्ययनअनुसन्धान हुने क्रम परापूर्वकालदेखि नै जारी छ । संगीतका विविध पक्षहरुको पहिलो प्रयोग भएको लिखित ग्रन्थ ऋग्वेद हो । विभिन्न शास्त्रहरुमा नादहरु असंख्य भएको उल्लेख भएको पाइन्छ । तर सबै नादहरु संगीतमा प्रयोग गर्न वा बोध गर्न सकिँदैन । त्यसैले संगीत पूर्णतः वैज्ञानिक विषय नभएर मानवीय क्षमतामा आधारित वैज्ञानिक विषय मानिन्छ । 

  • विभिन्न अध्ययन र अनुसन्धानहरुलाई आधार मानेर निष्कर्ष वा निर्णय गर्दा एक द्वादशकमा बढीमा ४२ को हाराहारीमा श्रुतिहरु हुने आधार पाउन सकिन्छ । यी सबै श्रुतिहरु पनि संगीतमा सबै श्रोताका लागि श्रवणीय र ग्रहणीय हुँदैनन् । यिनै श्रुतिबाट छानेर १ द्वादशक चयन गरिएको हुन्छ । १ द्वादशकमा जम्माजम्मी १२ वटा सुरहरु रहेका हुन्छन्, जसमा सा, रो, रे, गो, ग, म, मे, प, धो, ध, नु र नि पर्दछन् । द्वादशकबाट सप्तकहरुको समूह तयार हुन्छ । सारेगमपधनि पनि यसैमध्येको एक सप्तक हो । त्यसैले द्वादशकलाई रुख मान्दा सप्तकहरुलाई त्यसका हाँगाहरुका रुपमा लिनुपर्ने हुन्छ । 

  • माथि व्यख्या गरिएझैँ द्वादशकमा हुने आरम्भका ४ सुरहरु सा, रो, रे र गो हुन् । यसैबाट यस ब्लगको नाम सारोरेगो राखिएको हो । यस ब्लगमा संगीतका विविध पक्ष, गहिराइ, समस्या र निराकरणसम्बन्धी विषयहरु रहनेछन् । नेपाली संगीतको प्रवद्र्धन र स्तरीय कार्यहरुको प्रोत्साहन गर्नु पनि यस ब्लगको कार्य हुनेछ । समय भए तपाईँहरु पनि यस ब्लगमा आफ्ना लेखरचनाहरु पठाउन सक्नुहुनेछ । यो तपाईँहामी सबै संगीतकर्मीहरुको साझा ब्लग हो । हामी प्रमाणित सामग्रीहरुलाई मात्र प्रोत्साहन गर्नेछौँ ।
-डब्ल्यूडी